यो फुलेको जवानी
१. धवलित शिर मेरो टल्किएझैँ हिमाल
अनुभव भवको बुझ्नसक्ने छ चाल
हृदय–दह छचल्की प्रेमको बग्छ पानी
नभन नभन कच्चा यो फुलेको जवानी ।
२. जब जनभ भएथ्यो एउटै थेँ म एक्लै
व्रmमिक युवक बन्दा मित्रका माझ एक्लै
पढ पढ पढ मेरा प्रेरणाका कहानी
मसँग छ सुनखानी झैँ फुलेको जवानी ।
३. जबतक मुटु चल्ला कर्म गर्दै म मर्छु
रगत र पसिना यो देशमै खर्च गर्छु
म पनि त दुनियाँ हुँ श्वासमा भिन्न के छ ?
सुखमय कविताझैँ जिन्दगानी रहेछ ।
४. लुरुलुरु पृथ्वीमा घुम्नका निम्ति आएँ
पथ विपथ छिचोल्दा भिन्न पाएँ रमाएँ
विविध पथ रहेछन् साँघुरा चोक गल्ली
म त पथिक फगत् हुँ मस्तले हल्लिहल्लि ।
५. युवकपन चढेको पुत्रले भन्छ वृद्ध
अनुभव दुनियाँका भन्दछन् यो छ सिद्ध
म पनि किन नठान्ने देश हाँक्ने प्रबुद्ध
ढकमक छ फुलेको केशमा ज्ञान–बुद्ध ।
६. समयपछि कसैको पुत्र साथी हुँदैन
घर घर घर रोऊँ साथमा जाइँदैन
क्षणिक सब कुरा हुन् बुझ्छ यो जिन्दगानी
मगज मथन गर्छन् यी फुलेका जवानी ।
७. नभन भन दलेको केशमा यो तुसारो
विषम पथ दगुर्दा टाँसियो हैन छारो
समयसँग गरेको सन्धि हो सन्धि नानी
युगयुग अझ हाँक्ने छन् फुलेका जवानी ।