सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिसावटीवाद मुर्दावाद !

Nepal Telecom ad

संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धकेलिँदैछ । height= {{resad_more}} राजनीति, अर्थतन्त्र, वाणिज्य नीति, शिक्षा प्रणाली सबैमा मिसावटीवादकै संवाद र विवादले बहार पाएको छ । लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद, जनतान्त्रिक समाजवाद, लगायतका ठिमाहावादहरू राजनीतिमा हावी गराइएका छन् भने सरकारी, निजी, सहकारी अनि सामुदायिक जस्ता तीन खम्बे चार खम्बे मिश्रित अर्थतन्त्रमा नेपालको अर्थ नीति मार्च गराउने स्वैर कल्पनाहरूले मिलावटवादकै पृष्ठपोषण गरिरहेका छन् । शिक्षा पद्धति अलिकति गुरुकुल अलिबढी लर्डमेकाले वाचा प्रयोगात्मक मिसाएर यसमा पनि ठिम्मरवादको टिम्मर मजैले कसेका छौं । त्यसै गरी संस्कृति, उद्योग, स्वास्थ्यलगायतका क्षेत्रमा पनि मिसावटवादको हाकोडाको र साम्राज्य मजैले जमेको छ ।

यी मागि उल्लेख गरिएका सबै क्षेत्रमा सघन रुपमा फैलिएको मिश्रण तन्त्र, मिसावटीवाद वा फ्युजनलाई आदर्श मान्दै यतिखेर उपभोग्य सामग्री आपूर्ति गर्ने व्यापारी एवं व्यवसायीहरू तुच्छकोटीको, मिलावटी चिन्तनबाट आक्रान्त छन् । हिजोका रोडपतिहरू आजका करोडपति र खर्बका मालिक बनेका दृष्य सालिक भएर हेर्न पाइन्छ । हिजोका हात्ती छापे र गैडाछापे चप्पल लगाएर कैंडा लाग्ने गरी सडकमा भौतारिने राजनीतिज्ञहरू आज जसरी प्राडो, पजेरो, सुजुकीका वातानुकूलित सवारीमा गुडेर आलिसान महलमा राज भएका छन् । हिजोका दोबाटो कुरुवाहरू पनि मिलावटीवादकै प्रतापले नव कुवेर बनी तालु खुइल्याएर भालुझैं भई आम उपभोक्तालाई विषमिश्रित आलु खुवाई चिथर्नसम्म चिथरे गाठे ! पानी, तेल, मासु, मसला, दूध, तरकारी, चामल, गेडागुुडी, मिठाई, पाउरोटी, चकलेट, पुष्टकारी, घिउ, तरकारी, मैदा, दालजस्ता सबै बस्तु बेहाल पारामा हलाहल बनेर बहुरङ्गी हुँदै उपभोक्ताहरूको आँगनमा भित्रिएका छन् । मिति गुज्रिएका, छिमेकी देशले गुणस्तरहीन भनी प्रतिबन्ध लगाएका चीजबीजहरूलाई टिपेक्स लगाएर सानादेखि ठूला–ठूला कम्प्लेक्ससम्म झिल्के खोल हालेर ग्राहकको आँखामा फुलोपर्ने कसरतमा यमराजका सहरिया सहोदर कालोबजारिया भाइहरू लागि परेका छन् । जनतन्त्र र जनवादका खोल हालेका नयाँ भुरे टाकुरे जमात पानीसमेत जापानबाट झिकाएर प्यास मेट्छन् भने यिनीहरूले लिने ब्रेकफास्ट ,लन्च र डिनर अनि ,स्कच , बिफ, रेडलेभल मार्काहरू युरोप अमेरिकाबाट सखारै आइपुग्छन् । हे हरि राणा र शाहलाई पनि माथ गर्ने गाँडा विचौलिया तथा दलालको यो दमदमी कल्ले मास्ने ? 

वर्षौदेखि कमिसनको झुसिलो डकारमा छँटाउने राज्य चालकहरूले दुई नम्बरी काला बानियाँ लाई सालाकै दोस्रो अवतार ठानेर गाला मुसार्ने रोगले जनता वा आमउपभोक्ता हालाबाला बनेका छन् । “काग कराउँदै छ, पिना सुक्दै गर्छ” भन्ने उखानको बखान बुझेका राज्य चालकहरूनै यी अपराधीहरूका पालक र धर्मपिता बनेकै परिमाण सम्पूर्ण नेपालीहरूले नानाथरी रोगलाई राष्ट्रिय व्याधिमा स्थापित गर्न पुगेका छन् । किडनी बिग्रने, आँखाको ज्योति गुम्ने, क्यान्सरले चुम्ने, कलेजो र फोक्सो थोत्रिएर फुट्ने, मुटु कुटुकुटु खाने, डिप्रेसन, मानसिक असन्तुलन, अमलपित्त, कमलपित्त जस्ता रोगका गतिला भण्डार भएका छन् नेपाली शरीरहरू । यहाँ पाउँ भण्डारले आउँ पारेका छन्, मासु पसलले आँसुका फसल जन्माएका छन् । मिष्ठान्न भण्डार विष्ठान्नको हुँडार भएको छ, किराना पसलहरू मिति गुज्रिएका सामान बेच्ने बिराना अरिङ्गालका रुप लिएका छन् हरे दैव ! 

दूधमा सोडा मिश्रण गरेर कान्छी नानीका तोडा कस्ने, अझ सर्फ मिलाएर दूधलाई अखाद्य बनाई नाफाखोरी गर्ने, घिउमा जनावरको बोसो मिसाएर देखावटी ओसो भज्ने ढोंगीहरूका रोगी बनियाँ चिन्तनले जनस्वास्थ्यनै तहसनहस भयो बा ! बा ! जसरी राजनीतिमा माक्र्स लेलिन र माओवादले मात्र नपुगेर खाओवाद मिसाइएको छ, जसरी लोहिया गान्धी जेपी र वीपीवादमा गुट महागुट र कोटरीवादले राइँदाइँ मच्चाएको छ, त्यसैरी वाणिज्यवादमा पनि ‘एनिहाउ पैसा कमाउ’ भन्ने तुच्छ आपराधिक वाद मिसाएर उपभोक्ताका अर्थ धरातलदेखि स्वास्थ्यसम्म तलातल पाताल रसातलतिरको जात्राको यमराज मार्ग खडा गरी दिएका छन् मिसावटीवादीहरूले । पुतना, शूर्पणाखा, वक्कासुर, अघासुरका राक्षसी चिन्तन बोकेको मिसाटवाद बिरुद्ध अब जनता आफैं उत्रिएर हातपात गर्नपर्ने तुच्छ अराजतकतातिर त समाज हाम्फाल्दैन ? खबरदार मिसावटी, मिलावटी कुचिन्तनमा ग्रस्त सबैखाले फ्युजन वादीहरू ! आततायी मिलावटवादलाई मुर्दावाद छ !
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’