बैठक जारी छ । दिउँसोको आधा घण्टाको ब्रेकमा बाहिर निस्केर कोही चुरोटतिर लाग्छन्, कोही खैनी–गुट्काका फाँक हाल्न थाल्छन् । कामरेड खादूराम चाहिँ ग्यास्ट्रिक अल्सरका रोगी, पेट खाली राख्नै नहुने, २/२ घण्टामा केही न केही खानै पर्ने ।

“यसो केही खाएर आउँला, राति कतिबेला हुने हो..!” 
उनी अर्का कामरेड छद्मलाललाई लिएर क्यान्टिनतिर छिर्छन् । केही कामरेडहरू खाजा अर्डर गरेर गफ चुटिरहेका देखिन्छन् ...

खादूराम : के लिउँ त ?
छद्मलाल : मलाई त जे पनि चल्छ । बरू हजुरलाई...
खादूराम : उसो भा’ बफ मम नै लिउँ हुँदैन ? 
छद्मलाल : ठिकै छन्त !
खादूराम : ए भाइ‘ दुइटा ’ठुलोवाला’ मम यता है ‘!
पैली दुइटा चुरोट ल्याइहाल त !

(एकैछिनमा मम पनि आइहाल्छ)

कामरेड खादूरामले ममका डल्ला फुटाल्दै ममभित्रको तेल र मसलासितको मासु कपाकप पार्न थाल्छन् । 
छद्मलाललाई बडो अचम्म लाग्छ–

छद्मलाल : किन कमरेड ! भित्रको मात्रै ?
खादूराम : डक्टरले सकभर बाहिरको नखानू भन्या’ छ, त्यसकारन्.....।

–शेषकान्त गौतम