बल्ल त खृस्टमास सिद्धियो
अब मलाई जनवरीको निउ इयर मनाउनु छ
बैशाखको नया बर्ष मनाउनु छ
दुई चारवटा लोसार मनाउनु छ ।

जेठमा जेट चड्दै 
अलि चिसो ठाउँमा होली डे मनाउनु छ ।
असारे गीत गाउँदै चुच्चे मुख पारेर 
दुई–चार फोटा फेसबुकमा पोस्ट्याउनु छ ।
साउनमा नाङ्लो ठटाउँदै लुतो फाल्नु छ ।

हरे मेरा दुख !
फेरि भदौमा कृष्ण हुनै पर्यो, नाच्नै पर्यो
कहिँ नपाए पशुपतिको तिजको भिड त छ ।
दशैँ आउँछ मैले खानै पर्यो
पिउनु पर्यो, जिउनु पर्यो ।
थकित म तिहारमै आराम गर्छु
पलेँटी कसेर, दुई चार रात अनिदो बसेर 
मेरिज खेल्छु ।

जुवा नै त हो जीवन
म मेरै बाजी राख्छु
उसलाइ राख्छु
उसको राख्छु
आखिर पर्व न हो
पर्वै पर्वको जीवन छ
जीवन नै पर्व हो मेरो ।
अलिकति जुवा पनि ।

नियति न हो 
नियतिले मलाई कर्म दिएन ।
कर्म मेरो नियति नै होइन
काम मैले गर्नु हुन्न । 
म त होली डे गर्छु
पर्वमा रम्छु
बर्थडे मनाउँछु ।
भ्यालेन्टाइन मनाउँछु 
एक दिन त उताकाले मनाउँछन्
म त सधैं मनाउँछु ।
माया गर्दिन ।

नियति न हो नियति 
तिम्रो नियति कर्मीको हो
तिम्रोमा काम छ
त्यसको सट्टा अलिकति दाम छ
अलि अलि गाली छ
हेपाइ छ ।
पर्व छैन
जुवा छैन
भ्यालेन्टाइन छैन, माया छ ।
बर्थडे छैन, जीवनको प्रयोजन छ ।

हेर त म 
बिन्दास छु ।
म खृस्टमासमा छु
निउ इयरमा छु
नयाँ बर्षमा छु
दशैँमा छु
तिहारमा छु
भ्यालेन्टाइन डेमा छु ।
म छु र न तिनी छन्
म नभए तिनी कहाँ हुन्थे ?
म तिनीहरूको जीव हुँ
म शरीर पनि हुँ ।

हेर त यो शरीर र जीव 
निर्जीव छ
आऊ तिम्रो र मेरो नियति मिसाऊ 
अलिकति जीवन्तता देऊ
पर्व र कर्म मिसाऊ
भ्यालेन्टाइन डेमा अलिकति माया मिसाऊ ।
अलि कति प्रेम !

२७ दिसम्वर २०१८
कुसुन्ती, ललितपुर, नेपाल