उहिलेको कुरा हो । कोशी नदीको किनारमा एक जना सन्त आफ्ना शिष्यका साथ कुटी बनाएर बसेका थिए । दुवैको धेरै जसो समय भजन किर्तन, ईश्वरको आराधना र व्यायाममा बित्दथ्यो ।

एक दिन गुरु चेला दुवैले देश–देशावर डुल्ने संकल्प गरे । घुम्दा घुम्दै एक बिरानो देशमा पुगे । त्यहीं एउटा बगैंचामा कुटी हालेर बस्न थाले । गुरुले शिष्यलाई एक रुपैयाँ दिएर बजारबाट कुनै राम्रो तरकारी किनेर ल्याउन अह्राए । तरकारी बजारमा पुग्ने बित्तिकै शिष्य गंगाधरले तरकारीको भाउ सोध्न थाले । त्यहाँ त सबै चीज एक सेरको एक रुपैयाँमा बिक्रि हुँदो रहेछ । ऊ चकित भयो । तरकारी होस् कि दुध–दही, मिठाई होस् कि अरु कुनै, सबको भाऊ एउटै ( एक सेरको एक रुपैयाँ ।

‘रोटी तरकारी त संधैं खाएकै हो, कत्ति खानु ?’ उसले सोच्यो, ‘किन आज एक सेर मिठाई किनेर न लैजाउँ ?!’ मिठाई किनेर ऊ प्रफुल्ल हुँदै कुटीमा फर्कियो । उसले गुरुलाई यावत वृतान्त सुनायो । ध्यानमग्न हुँदै गुरुजीले भने, ’हेर बाबु, जति सक्दो चाँडो हामीले यो ठाउँ छोड्नु पर्दछ । यो अन्धेर नगरी जस्तो छ । यहाँको राजा साह्रै खतम र महामुर्ख हुनुपर्छ । कुनै पनि बेला हाम्रो प्राण माथि संकट आउन सक्दछ ।’

परन्तु शिष्यलाई यो सुझाव त्यति निको लागेन । गुरुलाई उसले भन्यो, ‘गुरुजी मलाई त यो ठाउँ ज्यादै मजा लाग्यो । गुरुको आज्ञा हुन्छ भने म केही दिन यहाँ बसौं ?!’

गुरुलाई उसको कुरा सुनेर हाँसो उठ्यो । ‘त्यसो भए, ठीकै छ नि त, टके सेरको मिठाई खाएर तँ आफ्नो ज्यान बना । यदि कुनै संकट आए छ भने मलाई सम्झिनु ।’ यति भनेर उनी आफ्नो दर्गादिशा लागे ।

गंगाधर दिनहुँ जस्तो विहान–विहानै नगरमा भिक्षाटनको निम्ति जान्थ्यो र त्यसरी प्राप्त भएको एक दुई रुपैयाँले मिठा–मिठा मिठाई खरिद गरेर खान्थ्यो । यसो गर्दागर्दै कैयौं महिना बिते । खाँदा–खाँदा उ काफी मोटो–घाटो पनि भयो ।

एक दिनको कुरो हो, गरिव विधुवी कलावतीको बाख्रा पण्डित दीनदयालको बारीमा चर्न पुग्यो । दीनदयाल रिसले मुर्मुरिदै बाख्रालालाई घोंचाले हिर्काउन पुग्यो । बाख्रो ठहरै भयो ।

अलापविलाप गर्दै कलावती राजाकहाँ न्याय माग्न पुगिन् । उसको फिराद सुनेर राजाले हुकुम दिए, ‘ज्यानको बदला ज्यान लेऊ !’
कोतवालले दीनदयाललाई पक्रेर राजाका सामुन्ने हाजीर गराए । राजाले दीनदयाललाई भने, ‘यात बाख्रालाई जिउँदो बनाऊ नत्र फाँसी चढ़ !’ बिचरा दीनदयालले बाख्रालाई जिँदो बनाउन सक्ने कुरै भएन । तब जल्लाद फाँसी दिन भनेर उसलाई लिएर गयो ।

दीनदयाल दुब्लो–पातलो, मरन्च्यासे थियो । फाँसीको फन्दा उसको घाँटीमा लाउँदा त फन्दा नै खुकुलो भयो । जल्लादले राजाकहाँ गएर विन्ती बिसायो, ‘महराज ! फाँसीको फन्दा यस बाहुनको घाँटीको आकार भन्दा धेरै ठूलो भयो ।’ केही बेर घोरिएर राजाले जल्लादलाई भने, ‘जा, आसपासमा जो मोटोघाटो देखा पर्छ उसैलाई ल्या’र फाँसी दे ।’

जल्लाद नगर कोतवाललाई साथमा लिएर मोटो व्यक्तिको खोजीमा निस्कियो । गंगाधरको कुटीको बगलबाट निस्कनै लाग्दा उनीहरूको नजर तेल मालिस गरेर बसउठ गर्दै गरेको एक मुस्तन्डमाथि पर्यो । दुवै टक्क रोकिए । कोतवालले भन्यो, ‘लौ हाम्रो कामफत्ते हुने भो, हामीले खोजेको शिकार फेला पर्यो ।’

गंगाधरलाई पक्रेर बधस्थलमा ल्याइयो । बिचराले राजासँग गिडगिडाउँदै भन्यो, ‘सरकार, मेरो के कसुर र मलाई फाँसी दिइँदै छ ?!’ राजाको हुकुम भो, ‘फाँसीको फन्दा तिम्रो गलाको नापसँग ठ्याक्कै मिल्ने रहेछ । यसै कारण फाँसीको तख्तामा तिमी नै चढ्नु पर्छ ।’

गंगाधरलाई गुरुको वचन सम्झना भयो । उसले भन्यो, ‘थोरै बेरलाई रोकी पाउँ, मलाई आफ्ना गुरुको ध्यान गर्न दिइयोस् ।’. उसले ध्यान गर्ने बित्तिकै गुरु टुप्लुक्क त्यहाँ आइपुगे । गुरुले एकान्तमा गंगाधरलाई खुसुक्क भने, ‘देखिस् त टका सेर मिठाई खाँदाको मजा ?! अब मैले भने झैं गरेस ।’

गुरुजीले जल्लादलाई भने, ‘हेर, म पनि मोटो छु, त्यसैले पहिले मलाई फाँसी चढाऊ ।’ उता गंगाधर जल्लादको हात तान्दै अनुनय गर्न थाल्यो, ‘होईन, होईन, मलाई पहिले फाँसी देऊ ।’ अब जल्लादलाई एकातिर गुरु आफूतिर तान्ने, अर्कातिर गंगाधर आफूतिर ।

रिसले आगो हुँदै राजाले भने, ‘फाँसीको नाम सुन्ने बित्तिकै मै हुँ भन्नेहरू समेतको होश–हवास उठ्छ । तिमीहरू दुई जना मात्रै फाँसीमा चढ्न तँ–छाड म–छाड गरी र’का छौ । यसको कारण के हो ?’

गुरुजीलाई यसै मौकाको प्रतीक्षा थियो । गुरुले बिन्ति विसाए, ‘राजन, अहिलेको यो मुहुर्त हजारौं वर्ष पछि केही क्षणको निम्ति मात्रै आउँछ । यो बेला फाँसीमा चढ्ने व्यक्तिले अर्को जन्ममा मौसुफको राज्यभन्दा पाँच गुणा ठूलो राज्यको वैभव प्राप्त गर्दछ ।’

अन्धेर नगरीका राजा पटमुर्ख र हावादारी त थिए नै, उनि त्यतिकै अव्वल दर्जाको लालची पनि थिए । गुरु शिष्य दुवैलाई हकार्दै राजाले भने, ‘कहीं नभएका कंगालहरू, आफ्नो अनुहार ऐनामा त हेरेका छौ तिमर्ले, खुव आएछौ, पाँच गुना ठूलो राज्यको राजा बन्न । पख, म आफैं फाँसी चढ्छु ।’ यति भनेर राजाले जल्लादको हातबाट फाँसीको फन्दा खोस्दै आफ्नो गलामा लगाएर झुण्डिए ।

गंगाधर आफ्ना गुरुजीलाई लिएर त्यहाँबाट आफ्नो दर्गादिशा लागे ।