सकारात्मक सोचौँ
दुई तिहाइको सरकार बनेको एक वर्षमा पनि केही भएन भनेर निरास नहोऔँ । {{read_more}} अगाडि बढ्न बाधा गर्ने तगारा एकपछि अर्को गर्दै पन्छाउँदै लगेकाले अब सरकारले गति लिन्छ भन्ठानेर मनमा शान्ति कायम गरौँ । विकास निर्माणका कति काम त भई नै रहेका छन् । मेलम्ची पानी, चक्रपथ, हुलाकी मार्ग, रेलमार्ग, पानीजहाज, पेट्रोल उत्खनन् इत्यादिजस्ता झिनामसिना विकासका कुरा छाडौँ, मुलुकमा पारमाणविक भट्टी नै बन्ने कुरा आइसकेपछि विकासको चिन्ता नगरौँ । करोडौँ, अर्बौं डलरको युरेनियम विदेशतिर निकासी गर्न थाल्ने दिनको कल्पनामा अब चुप लागौँ, धैर्य गरौँ ।
भ्रष्टाचार नघटे पनि सरकारले घटाउँछु भनेको छ । प्रधानमन्त्री स्वयंले नै बारम्बार भ्रष्टाचारीको मुख हेर्दिनँ भनेपछि भ्रष्टाचारीहरू लाजले पानीपानी हुनेछन् भनेर ढुक्क होऔँ । हत्या, हिंसा, बलात्कार र असुरक्षा पनि कुनै दिनदेखि कम होला भन्ने सोचौँ । उदाहरणका लागि, लामो समयदेखि सरकारलाई नराम्रोसँग अल्झाइरहेको निर्मला हत्या प्रकरण त मुल्तवीमा जान लाग्यो भने अरु सानातिना कुराले सरकारलाई बाधा गर्ने कुरै आउँदैन ।
केही समय सुन तस्करी काण्डले पनि सरकारलाई बाधा गरिरहेको थियो । अब त्यसको समस्या पनि समाधान भयो भन्ठानौँ । किनभने, त्यस काण्डमा तस्कर रिहाइ भए पनि रिहाइको आदेश दिने न्यायाधीशहरू कारबाहीमा परिसके । अर्को बाधक वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार काण्ड थियो । सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका नाम गाँसिएपछि त्यस काण्डको पनि काण्ड बसिसक्यो ।
त्यसो त, प्रतिपक्षले पनि चिन्ता गर्नुपर्ने अवस्था छैन । प्रतिपक्षको व्यापार पनि केही समयदेखि नाफामै छ । उसलाई राजनीति गरिरहन सानातिना मरमसला हात परिरहेकै छन् । सडक र सदन तताउने काम गरेकै छ । नारा, जुलुस, प्रहरीसँगको घम्साघम्सी, गिरफ्तारी आदि कर्मकाण्ड सम्पन्न भइसकेकाले जनताको पक्षमा केही न केही गरिरहेको अनुभूति उसलाई भइरहेकै हुनुपर्छ । प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने र उनले देख्ने काम पनि भइसक्यो । पुत्ला जलाउने कर्म पनि सफलतापूर्वक सम्पन्न भयो । आफ्ना नेताका नाम जोडिएका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत राख्ने मागमा सरकारलाई घुँडा टेकाउन सफल भएको उपलब्धिको बुँदा आफ्नो खातामा परिसक्यो । अब छाया सरकार गठन गरेपछि प्रतिपक्षको भूमिकाप्रति जनताले प्रश्न उठाउने ठाउँ रहने छैन ।
अब के बाँकी रह्यो ? सबै कुरा सकारात्मक नै हुँदैछ । लोकतन्त्र पनि बलियो हुँदैछ । शपथग्रहण गर्न बाँकी जनप्रतिनिधिहरूले शपथ खाइसके । रेशम चौधरी, दीपक मनाङेहरू माननीय भइसके । उनीहरू सफाइ पाउन र रिहा हुन मात्र बाँकी छ । प्रचण्ड कमरेडले अमेरिकालाई थर्काएर सरकार कति बलियो छ भन्ने छनक पनि दिइसके । जति पनि बिघ्नबाधा थिए, सबै अब टरिसके । सरकारलाई गति लिन तगारो तेस्र्याउने डाक्टर केसीलाई मात्रै हो तह लगाउन बाँकी । संसद्को बाहुबल र बहुमत दुवै स्रोत–साधनको प्रयोगद्वारा चिकित्सा शिक्षासम्बन्धी विधेयक पास भइहाल्यो । डाक्टरका राजनीतिक मागको बहानामा चिकित्सकमा फुट पनि आइसकेको हुँदा बिस्तारै केसीभन्दा सरकार बलियो हुने आशा गरौँ । त्यसपछि समृद्धिको यात्राले गति लिन्छ भन्ठानौँ । केही भएन भनेर धेरै टाउको नदुखाऊँ, केही न केही हुँदैछ भन्ने मानौँ । सकारात्मक सोचौँ । सकारात्मक सोच्यो भने बाँच्न सहज हुन्छ ।
नेपाल, माघ २४, २०७५