सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुमारजी आज्ञा गर्नुहुन्छ

Nepal Telecom ad

 height=कुमारजी आज्ञा गर्नुहुन्छ, 
हे अगस्त्य मुनि ! तहाँ उप्रान्त मान्छेहरूले प्रजातन्त्र ल्याउनुपर्छ भन्न थाले । प्रजातन्त्र आयो । पुनः प्रजातन्त्रको कुरा गरे । {{read_more}}पुनः प्रजातन्त्र आयो । विचमा प्रजातन्त्र कुन्ठित भयो भने । प्रजानन्त्र पुनर्वाहली भयो ।  लोकतन्त्रको कुरा गरे । लोकतन्त्र आयो । गणतन्त्रको कुरा गरे । गणतन्त्र पनि आयो । संभिधान चाहियो भने । संविधान पनि आयो । त्यसपछि नयाँ नेपाल चाहियो भने । अब त्यो नयाँ नेपाल दिने मान्छेको खाँचो भयो । तिनतिर्लोक चौध भूवन खोजी गर्दा पनि कतै भेटिएन । पहिला पहिलाका विष्णुका अवतार भनिएका राजाहरू र तिनका सन्तानहरू जाँजा खाएर सुधार गृहमा बस्न पुगे । राजनेताहरू ड्रगतिर लागे । उच्चस्तरका कर्मचारीहरू रक्सी पिएर सक्सीमै पौडिएर समाजका आँखामा हेलामा परे । खोज्न गएकाहरू कहाँ कुन् गुफाकी राक्षसीका मायवी जालमा परे केही पत्तो भएन । कुन राष्ट्रको राष्ट्रिय जनावरको शिकार बने अत्तोपत्तो भएन ।

यता केही गणहरू नयाँ नेपाल बनाउने भनेर उफ्रन छाडेनन् । कहिले बिहान उफ्रिए । कहिले साँझ उफ्रिए । कहिले मध्य दिउँसो उफ्रिए कहिले मध्यराती उफ्रिए । यसरी जतिखेरै उफ्रिन थालेपछि कसैको केही लागेन । टोल टोलमा अनेक तमासा देखिए । कोही श्रीलङ्का बनाउँछौँ भन्न थाले । कोही अम्रिका बनाउँछौँ भन्न थाले । कोही बेलायत बनाउँछौँ भन्ने निस्किए । नभन्दै साँच्चै गर्लान् कि जस्तो पारे  । उनीहरूका साथमा जनगणहरू पनि लागे । उनीहरूका भाषामा नेपाल नयाँ बन्दै गयो । हामीले पनि थाहा पायौँ नयाँ नेपाल भनेको के रहेछ भनेर । 

हे अगस्त्य मुनि ! 
नयाँ नेपाल गफमा भयो । केही ठाउँका नामहरू फेरिए । केही चोकका नामहरू फेरिए । केही चोकका पुराना सालिकका ठाउँमा नयाँ शालिक राखिए ।  केही गाउँ, जिल्ला र विकास क्षेत्रका नाम फेरिए । विकास क्षेत्रहरूलाई राज्य भनियो । ती राज्यका नाम जुराउन सकिएन भने । तिनका नामा नं १ नं २ भनेर राखियो । नाम राख्दा सबैको भाग नपुगेकाले बर्षौसम्म नामविहीन प्रदेश भए । प्रदेशैपिच्छे मुख्यमन्त्री, मन्त्री र संसद् भए । सोझा जनता झन्भन् गरिब भए । बाठा जनता सबै नेता भए । नेताहरू धनी भएको भयै भए । जनगणभन्दा नेतागण बढी भए । परिणामस्वरुप गरिब बस्तीहरू नगरपालिका घोषित भए । नागरिकले भैसी बेचेर मालपोत तिरिरहे  । गाइबेचेर नगर कर तिरिरहे । अब उनीहरूलाई गाईभैँसी पाल्ने र घस्याउने चिन्ताबाट पनि मुक्ति भयो ।

कुमारजी आज्ञा गर्दै रहे । 
हे अगस्त्य मुनि ! नयाँ नेपाल भनेको हामीले र अरुले पनि सोचे जस्तो हुँदो रहेनछ ।  चोर,डाँका र भ्रष्टहरू संरक्षित हुँदा रान् । तिनका ठाउँमा इमान्दारहरूले सजाय पाउँदा रान् । इमानी मानिस जेल जाने र बदमासहरू चोकचोक डुल्ने चलन चलाउँदा रान् ।  । घरघरमा बुढाबुढी असहाय बन्न थाल्दा रान् । छोराछोरी विदेशका दास बनाउँदा रान् । रेमिट्यान्सका नामले देश चलाउँदा रान् । गरिबको करले गाडी चढ्नेहरूको गाउँगाउँसम्म बिग्बिगी बढाउँदा रान् । आफ्नै सन्तनका अनुहारमा कोको कोको पराई एजेन्टहरू घरघरै पस्ता रान् । यसको समस्या भनूँ कि फाइदा भनिसाध्य भएन । यस विषयमा मुनिवरले जिज्ञासा राखेको एउटा घतलाग्दो कथा छ ।
मुनिवर सुन्नुहवोस् । 

हाम्रा मुलुकको राजधानीको पशुपतिको मन्दिरबाट पूर्वतिर वाग्मती खोलो बग्छ । त्यस खोलाका किनारमा अनेक धर्मात्मा र देशभक्त भक्तजनहरू बसोबास गर्छन् । पशुपतिको मन्दिरभन्दा   ५०० मिटर दखिनतिर एउटी धर्मात्मा महिला बस्थिन् । उनले नगरेको धर्म केही थिएन । तिनले धर्मका नाममा ईश्वरका कृपाले आधादर्जन घोषित र झन्डै त्यतिनै अघोषित पति पनि बनाएकी र पाएकी थिइन् । उनी मेयरदेखि संसद् र मन्त्री बनेर राष्ट्रसेवा पनि गरेकी थिइन् । तिनको एकमात्र छोरो राजदूत बनेर उता अम्रिकामा बस्थ्यो । 

उनका अनेक धर्मकर्मका प्रभावले धेरै वर्षपछि छोरो घर आयो । आमालाई कोसेली ल्यायो । गाडीमा घुमायो । आमाबाहेक कोही पनि आफ्नो नभएको चेपापरो पार्यो । घरमा बार बनायो । थरिथरिका नयाँ नेपाल बनाउने साथीहरू ल्याएर चिनायो । बारमा साथीभाइलाई ख्वाइप्याइ गरेर आमालाई मख्खै पार्यो  एक दिन् भन्यो, आमा यो घरमा साथीभाइ आउँदा बस्न पुगेन । गाडी पार्किङ पनि सानो छ । यहाँबाट उत्तरतिर पशुपतिकै छेऊमा श्लेषपान्तक बनपनि देखिने ठाउँमा विशेष वड्गाला वैना गरेको छु । अलिकति पैसा पुगेन । यो घर बेचिदिऊँ ।

म भन्दैछु हे अगस्त्य मुनि धैर्यपूर्वक सुन्नुहवओस् । 
धर्मात्मा महिलाले बुढेसकालमा आफ्ना छोराले भाग्यको खोलो फर्काएको ठानेर एक सय आठ ममका डल्ला पकाएर छोरा बुहारीलाई खुवाइन् । छोराबुहारीका मुन्द्रे जगल्टे साथीहरूलाई पनि खुवाइन् । दैवलाई धन्यवाद दिइन् र घर बेचेर छोराका खातामा पैसा हालिदिइन् । त्यसपछि हराएको छोरो फर्किएन । कुनै नन्दी भ्रिङ्गी डाकिनी साकिनी पिसाच लाग्यो कि भनेर गाउँका सभामुखलाई हात हेराउन गइन् । उनले छोरो बेलायत वा अम्रिका कता हो फर्किएको बताए । अहिले ती आमै पशुपतिको वृद्धाश्रममा छोराले बेलायत वा अम्रिका फर्काएर नयाँ नेपाल बनाउने सपना देखेर दिनदिनै मध्यान्हमा स्वास्थानी परमेश्वरीको पूजा गरिरहेकी छन् ।

म भन्दैछु हे अगस्त्य मनि ! 
यस्ता नेपाललाई स्वीजरल्यान्ड बनाउँछु भनेर नेपाल आमाकै ढुकुटीबाट स्वीजरल्यान्डको अध्ययन भ्रमणमा थुप्रै छोराहरू गएको कुरा त्यही किनारमा पूजागर्ने आमाहरूबाट थाहा भयो । धेरै छोराहरू राजदूतका नाममा पराई मुलुक पुगेर यताको जरीबुटी व्यापार गर्न थाले । हरेक दिन थुप्रै छोराछोरीहरू नयाँ नेपाल बनाउने बहानामा एयरपोर्टको बाटो खाजासामल बोकेर पहिला बाजेबजै तीर्थ जाँदा झैँ अरब बतार जान थाले । यता बेलामा छोराबुहारी नफर्कँदा बृद्धवृद्धा निकै चिन्तामा परे । उनीहरू अनेक तीर्थव्रतमा लागे । केही गर्दा पनि छोराछोरी नफर्केपछि तिनलाई पाल्ने नाममा तिनका सम्पत्ति जिब्ट्याउने र हेला गर्ने जन्था पनि देखियो  । गाउँगाउँका घर वृद्धाश्रम भए ।  खेतीपाती हराउन थाल्यो । बारी बाँझै रहन थाल्यो । धेरैले नयाँ नेपाल यस्तै हुँदो रहेछ भनेर पत्याए । 

हे अगस्त्य मुनि !
केही नयाँ नेपाल मन नपराउने मान्छे पनि देखिए । प्रायः नयाँ नेपाल नपत्याउने  केटा  खाडी मुलुक झरे । त्यसमध्ये धेरै कफिनमा प्याक भएर आए । केही अपाङग बनेर फर्किए । देशमा अपाङ्गलाई अपाङ्ग भन्न नपाउने व्यवस्था भयो । केही आएकाले अनेक रोगब्याधी ल्याए । रोगीलाई रोगी भन्न नपाउने कानुन बन्यो । तिनका लागि स्वास्थ्यविमा कार्यक्रम ल्याई पैसा भेला पार्ने व्यवस्था आयो । यता घरमा छोडेका तिनका स्वास्नी छोराछोरी पनि आआफ्नै तालले नयाँ नेपाल बनाउने अभियानमा स्कुल र क्याम्पस छोडेर सडकमा निस्किए । उनीहरूलाई सडकमा हिँड्ने स्वतन्त्रता दिने खालको कानुन बन्यो ।  तिनलाई राज्य र परिवारको कानुनले छुन छाड्यो । बुढापाका आँखा चिम्लन थाले । लफङगा युवायुवती बेरोजगारी भक्ता पाइने भयो भनेर हर्षबढाइमा लागे र आँखा खोलेर हिँड्न थाले । 

देशले सामाजिक सुरक्षा भत्ता  बढायो । त्यसो गर्दा भत्ता पाउने बुढापाका रक्सी र गाँजामा झुम्न थाले । देश बनाउँछु भन्ने जहाजमा उडेर देशको अवस्था हेर्न थाले । देश रित्तो भएकाले उनीहरूले खास बनाउनुपर्ने केही देखेनन् ।  जतासुकै डान्सबारहरू बने । राम्रा राम्रा होटल र क्यासिनोहरू बने । राम्रा होटल जस्ता लिफ्ट चढेर पढ्ने स्कुल र कजेज बने । जतासुकै पार्टीप्यालेसहरू बने । जग्गाको किनबेचले मान्छेको दैनिकी रात दुगुना दिन चौगुना विकास भएकाले खेतीपातिको आवश्यकता देखिएन । गाई चराउने मान्छेहरू प्राय हराउँदै गए । बिहान बिहान कुकुर डोर्याएर हिँड्ने मान्छेको इज्जत चुलियो । भेडा बाख्रा चराउने मान्छे अपमानित हुँदै प्राय पलायन भए । बिराला पालन गर्नेहरूलाई केही सुविधा थपियो । कुखुरा पालन गर्नेहरू पलायन भए । चिल, चिद्ध, र सर्प पालन गर्नेहरू बढेर आए । 
अरु पनि केही नयाँ भएको छ । हे अगस्त्य मुनि सुन्नु हओस् । 

मान्छेले भात खान छोड्दै गयो । मम, चाउचाउ, पिजा, चाउमिन समोसा खान थाल्यो । यसका लागि कृषि कर्म आवश्यक देखिएन । मान्छेहरू पिउने पानी भन्दा रक्सीतिर लागेकाले खानेपानी योजनाका सट्टा भट्टी खुल्न थाले । सागको सट्टा मासु खाने जनताको जनस्तरले गर्दा सागबारी मासिँदै गए बरु केही गाँजा खेती फस्टाउन थाले । 
कुमारजी आज्ञा गर्दै हुनुहुन्थ्यो । अगस्त्यजी ध्यानपूर्वक सुन्दै हुनुहुन्थ्यो । कथा सुन्दासुन्दै अग्स्त्य मुनि थाक्नुभयो । हाइकाडेर दाह्री कन्याउन थाल्नुभयो ।  त्यासो हुँदा कुमारजीले आज्ञा गर्नुभयो, आज अगस्त्य मुनि कथा श्रवणबाट थाक्नु भएकाले आजलाई यहीँ स्थगित गरिन्छ ।  

इतिश्री स्कन्न पुराणे माग महात्मे नयाँ नेपाल खण्डे पाखण्ड चरित्रे प्रथमोध्याय ।
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु