“द्यौतीले उतै बच्चा पाइ रे !”
“को द्यौती ? मालती ! दुबैजना बेफुर्सदी थे, अप्ठेरोमा परे ।  बच्चा स्याहारून कि जबमा जाऊन् समय म्यानेज गर्नै गार्हाे हुने भो तिनलाई !”
“आ.. हुन्दे, हामीले मात्रै चिन्ता गरेर के गर्नु र ? घरबाट लखेटेका लखेट्यै छन् । बिचराहरू धन्न विदेशमा त आरामले खाइलाइ गरेर बसेका छन् । यहाँ भएको भए कुकुरले नपाउने दुख पाउँथे ।

भोलिपल्ट विहानै शुभ समाचार आयो । सन्तान बृद्धि भयो । स्काइबमा छोरीले पनि कुरा गरी । ज्वाईं हस्याङ् फस्याङ्मा थिए । नजिकै निदाइरहेको पुचुङ्ग्रे पातलो सिरकमा लट्पटिएर मुख चलाउँथ्यो । कर्णेल्नीको मन तेसै रसाएर आउँथ्यो नातिले ’हजुर आमा’ भने भने झैं लाग्दथ्यो । उनले मुटुमा गाँठो पारेर स्काइबको अगाडि आँशु पुछिन र पर सरिन । कर्णेल बुढा अलमल्ल परे ।

“ज्वाईं साब सुत्केरी कसरी स्याहार्नु हुन्छ ?, सार्है गार्हाे पर्याे । बरू सासु बज्यैलाई पठाउने बन्दोवस्त गरूँ कि क्या हो ?”
पर्दैन, म यहाँ म्यानेज गर्छु हजुर, हजुरलाई किन दुख र ?”
स्काइब नेट डिस्टर्बले अफ भयो । दुबैतिर सम्पर्क बिच्छेद भयो ।

“हेर मालती म त हैरान भएँ । तिमीलाई स्याहारूँ कि जबमा जाउँ । थकित भएँ । केही गर्न भ्याउँदिन काम पनि सबै बिग्रिसक्यो । थकान, आलश्य, हैरानी अनि जोहो र व्यवस्थाले मलाई अति सतायो । बरू आमालाई बोलाउँ है ।”
“लौ हेर ! तेस्तो लखेटेर हामीलाई विदेश पठाउन बाध्य बनाउने दुष्ट सासूलाई यहाँ बोलाएर मेरो सेवा हुन्छ । भैगो पर्दैन ।”

फनक्क फर्केर घोप्टो परेकी मालती कुन्नी के सम्झेर हो, घुँक्क घुँक्क गरेर रून थालिन् । बलिन्द्र आँसुका धारा देखेर माधव हेरेको हेर्यै भए । मालतीको मनमा आजसम्मको सबैभन्दा ठूलो चित्त दुखाइको दिन नै आज थियो । साथमा आफ्नो विवाह घरको कुनै सोधखोज र वास्ता थिएन । सायद ऊ कसै कि रखैल प्रेमिकाबाट पत्नीको रूपमा पलायन भएकी थिइन । माधब र मालतीका बीचमा केही चिसोपन देखापर्याे । दस पन्द्रदिन पछि मालतीले कर्णेललाई फोन गरिन् ।
“बाबा हजुर ! आमालाई नाती खेलाउन पठाइस्यो !”
कर्णेल अलअल्म परे । घरको सोधीखोजी गरे । छोरीको दुखको बयान सहन सकेनन् ।
“बुढी आइमाईलाई भिसा कसरी मिल्छ र ?”

मालतीले आफ्नी आमा आउने सङ्केत पाएपछि “तेल भिसा“ अप्लाई गरिन् । तेल भिसाबाट नाति भेटेकी कर्णेल्नी अचेल गाउँका आइमाईहरूलाई बेलाबखत स्काइबमा भेटिन् भने तेल भिसाको बखान गरेर सिध्याउन्नन् ।
“हैन, ए दिदी ! यो तेल भिसा भनेको के हो ?”
“खै ! ज्वाईं छोरीले भनेको ।”
गाउँले आइमाईहरू ठान्थे “तेल भिसा” भनेको “सुत्केरी” होला ।