सबै ठीक छ सरकार
सबै कुरा ठीकठाक हुँदाहुँदै पनि केही विकासविरोधी, अप्रजातान्त्रिक तत्व सरकारको निरन्तर विरोध गरिरहेका छन् । {{read_more}} तिनीहरूले डाह गर्दैमा चिन्ता लिनुपर्ने केही छैन सरकार ! बिनाहिचकिचाहट यही गति र मतिका साथ अगाडि बढिरहे सरकारको फलिफापै फलिफाप हुनेमा कुनै शंका छैन । यो एक वर्षमा धेरै भए लोकप्रियता ओरालो लागेर भुइँतिर पुगेको छ । अर्थोक के भाको छ र ! पार्टी्भित्र र बाहिर सरकारप्रति असन्तुष्टि चुलिएर आकाशमा पुगेको छ । पहिला–पहिला समर्थन गर्ने वा चुपचाप सरकारका काम पर्खिबसेकाहरू पनि आक्रोशित र वाक्क भएका छन् । सरकारी गुटकै मान्छे असन्तुष्ट बनेर अर्को गुटतिर बसाइँ सर्ने सम्भावना चुलिएको छ । सरकारलाई समर्थन गर्नेहरूको संख्या खर्लप्पै घटेको छ । त्यति हो, अर्थोक के भएको छ र ! सबै ठीक छ सरकार !
समग्रमा मुलुकको अवस्था एकदम ठीक छ सरकार ! सरकार र देश दुवै सही दिशातिर अगाडि बढेका छन् । यसरी नै अगाडि बढेर सरकारको डेढ वर्ष बितिसक्यो । उल्लिखित केही झिनामसिना कुराबाहेक बाँकी सबै ठीकठाक भएको हुँदा जतिसुकै विरोध भए पनि आत्तिनुपर्ने केही छैन सरकार । अब मात्र साढे तीन वर्ष हो, ‘यसैगरी बिताइदिन्छु पाँच वर्षे जिन्दगी’ गीत गाउन थाल्दा हुन्छ । आगे सरकारको जो विचार ।
देशको वर्तमान स्थिति पनि ठीक छ । मुलुकभरि जताततै बाढीपहिरो र डुबान हुँदा पनि मर्नेको संख्या सय नाघेको छैन । सडक केही दर्जन ठाउँमा भत्केका हुन्, यातायात केही दिनदेखि अवरुद्ध भएको हो । समस्या केही छैन । पहिरो हटाउने काम डोजरले गर्दैछन् । स्थानीय निकाय खटिएकै होलान् । वडाअध्यक्ष, सदस्यलाई अर्कोपल्ट चुनाव जित्नु छ भने तिनीहरूले व्यवस्थापन मिलाइहाल्लान् । वर्षा पनि थामिँदैछ । पहिरो र बाढी पक्कै कम हुनेछ । विचल्लीमा परेर ठाउँ–ठाउँमा शरणार्थी बनेका जनता घर फर्किनेछन्, घर नभएकाले कतै आफ्नो व्यवस्था मिलाउनेछन् । उनीहरूलाई बानी परेकै छ । अनि कहाँ के बिग्रेको छ त !
अहिले मन्त्रिमण्डल भित्रको आन्तरिक द्वन्द्वको दुर्गन्ध बाहिर पनि ह्वास्स–ह्वास्स आउन थालेको छ । त्यहाँ सरकारले गरेका काम प्रधानमन्त्रीलाई थाहा हुन छाडेछ । सचिवले मन्त्रीहरूलाई नै गुमराहमा राख्न थालेछन् । सरकारले अनेकौँ निर्णय गर्दै र दर्जनौँ विधेयक पेस गर्दै फिर्ता लिँदै गरिसक्यो । मेलम्ची आयोजनालगायत थुप्रै मुद्दामा सरकार पटक–पटक पछारियो । नझुक्ने र अडान कहिल्यै नछाड्ने कुरामा नाम कमाएका प्रधानमन्त्रीले सरकारबाट भएका कतिपय कामका लागि माफी मागे, लज्जित छु पनि भने । अर्थोक त के बिग्रेको छ र ! सब ठीक छ सरकार !
महँगी र भ्रष्टाचारको पारो माथिमाथि चढिरहेको छ । सरकारले नसके पनि तरकारीको भाउले ‘उडी छुनु चन्द्र एक’ भन्ने उद्देश्य पूरा गर्दैछ । दबाबमा परेर भारतबाट आउने विषादीले परिपूर्ण भनिएका तरकारी परीक्षणबिनै देशमा हुल्न बाध्य भइयो । मुलुकमा द्वन्द्वले टाउको उठाउँदैछ । विद्रोही समूहका मानिस मारिँदैछन्, समातिँदैछन् । मुठभेड बढ्दैछ । प्रहरी पनि मारिन थाले । त्योबाहेक अर्थोक त के बिग्रेको छ र ! सब ठीक छ सरकार !
नेपाल, श्रावण २, २०७६