अनाकाङ्क्षित घटना वा कार्यहरू जब समाजलाई कलुषित पार्ने कारण बन्दछन्, तब समाजमा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ ।  जब द्रष्टाले आफ्नो क्षोभलाई संयमताका साथ हाँस्य रसमा भिजाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुँदोरहेछ । यही समाज र समयकोे अग्लो होचोलाई थाक्दै नथाकी सिङ्साँढे(हास्य व्यङ्ग्य नाटक) को माध्यमबाट सम्याउन तम्सिएका छन् सिलगडीको प्रधाननगरका कृष्ण प्रधान । 

कृष्ण प्रधान, सिलगडीका स्पष्ट विचार राख्ने साहित्यकार हुन् । उनलाई एउटा रहस्यका रूपमा बुझ्नेहरूको सङ्ख्या पनि सिलगडीमा ठूलै रहेको छ । उनलाई उग्र प्रतिक्रिया जनाउने भनेर आरोप पनि लाग्ने गरेको छ । तर पनि उनका कृतिप्रति बेवास्ता लगभग अब असम्भव छ । किन कि यो त्यस्तो समय हो, जब नेपाली साहित्यको परिदृश्यमा सिङ्साँढे जन्मियो । अब त कृष्णलाई सजिलै झन् पन्छाउन सकिँदैन । 

भनिन्छ– ‘कलाको कुनै भूगोल हुँदैन ।’ कला मानव जातिकै उत्तम सभ्यता हो । यदि मानिसमा कलाको गुण नहुँदो थियो त हामी आज यो आयाम (उचाइ) चुम्न सक्ने थिएनौँ । सेक्सपियरले यो संसारलाई रङ्गमञ्च र सम्पूर्ण प्राणी जगतलाई कलाकार भनेर परिभाषित गरेको तीन सय वर्ष नाघिसकेछ । त्यही पनि नाटक भनेको हँसिमजाक नै हो भन्ने छाप छँदैछ । नराम्रो कुरा, नक्कल र सस्तो मनोरञ्जनलाई सम्बोधन गर्नु पर्यो भने मानिसहरूले ‘नाटक’ भन्नथाले । 

संसारमा रङ्गकर्म वा नाटकमा लागेका धेरै महान् व्यक्तित्वहरूलाई हामीले स्वीकारीसक्दा पनि नाटक भन्ने शब्द बोलिचालीको भाषामा सम्मानित हुन सकेन । सर्वसाधारण मानिसहरू कुनै घटनालाई उडाउनु पर्यो वा अपत्यारिलो लाग्यो भने अझै ‘नाटक रहेछ’ भन्छन् । जिम्मेबार निकायका मानिसहरू त झन् यो विषयमा संवेदनशील छँदै छैनन् । तर यही हँसिमजाककै माध्यमबाट नाटककार कृष्ण प्रधानले समाजका बिब्ल्याँटालाई देखाउने प्रयास गरेका छन् सिङ्साढेमा ।

सिङ्साँढे शब्दको अर्थ आफ्नो बल, छल, जालझेल, षडयन्त्र, मिचाइ, ढलीमली अनि कपटद्वारा सोझासिधा, निमुखाहरूमाथि नजानिँदो पाराले गरिने अन्याय, शोषण आदि भन्ने बुझिन्छ । समाजमा सिङ्साँढेहरू कहाँ छैनन् ? राजनीतिमा, साहित्यमा, सङ्गीतमा, संघसंस्थामा कति छन् कति । तिनीहरूको विरोध गर्ने आँट कसैको छैन र हुँदैन । यस्ता सिङ्साँढे आफू पर्दापछि बसेर कसैको काँधमा टेकी आफ्नो दुनो सोझ्याइरहेका छन् । समाजसेवकको बर्को ओढेर धमिराले बूढो रुख खङ्रङै पारेजस्तै आफ्नै समाजलाई खङ्रङै पार्ने तथाकथित समाजसेवकलाई सिङ्साढे मार्फत् प्रस्तुत गर्ने काम नाटककार कृष्ण प्रधानले गरेका छन् । 

रङ्गकर्मी बोयलले भनेजस्तै– ‘सम्पूर्ण मानव समाजको दैनिक जीवन लीलामय छ ।’ विवाह, अन्त्येष्टि जस्ता संस्कारहरू पनि नाट्य प्रस्तुति नै हुन् । हाम्रो दैनिक जीवनमा हामीले पत्तै नपाइ भोगेका ससाना क्षणहरू पनि रङ्गमञ्चीय अभिव्यक्तिहरू हुन् । विभिन्न परिस्थिति र सम्बन्धका हाम्रा क्षणहरू, बिहानको कफी, गुडमर्निंगहरूको आदानप्रदान, सुटुक्क गरिने प्रेमहरू र हाम्रा भावनाका आँधी, सरकारी भेटघाट, संघसंस्थाका सम्मेलन अथवा कुटनीतिक बैठकहरू सबै रङ्गमञ्च हुन् ।

राजनैतिक सीमानाले भाषाको सीमालाई घेर्न सक्दैन । कला, साहित्य र संस्कृतिको सीमा राजनीतिको भन्दा अलिक फरक हुन्छ । राजनीति सीमाको विस्तार सीमित भएपनि कला, साहित्य र सांस्कृतिक सीमाको विस्तार टाढा टाढासम्म हुन्छ । समयका साक्षी स्रष्टाको यस कार्यमा महत्वपूर्ण भूमिका पनि हुन्छ । अनि समयले पन्छाएर पर सारेका जीवन र समयलाई समाएर आधार शिविरबाट माथि पुुगेका जीवनको साक्षी स्रष्टा नै त हुँदारहेछ ।

हाम्रो समाजमा चारैतिर जताततै ठूलाबडाहरूले पैसा र तुजुकको आँट बल अनि भरमा आफ्नै समाजलाई धमिरालेजस्तै खङ्रङै पारेको कुरा निर्विवाद सत्य छ । तर कसले विराधे गर्ने साँढेहरूको ? फेरि तिनै तथाकथित ठूलाबडाहरूले समाजसेवकको मखुण्डो लगाई आफू प्रतिष्ठित गणमान्य आदरणीय अनि सम्माननीय समाजसेवकको पगरी गुँथेर आफ्नै समाजमा ढलिमली पनि गरिरहेका छन् । सबै चूप छन्, सबै मौन । 

हो यो त्यही समय, अब जब सिङ्साँढेको पर्दा उठ्छ तब दर्शकले विधर्मका रूपमा त्यो सामथ्र्यको नापजोख गर्न सक्छन् । कृष्णलाई उनको मौनताका लागि अनुमति दिन सकिँदैन । यदि समाजमा मौलाउँदै गएका बिकृति विसङ्गतिमा उनी मौन बसे भने यसलाई ‘मिलेमतो’ र ‘कायरता’को रूपमा अथ्र्याउन सकिन्छ ।

२०७६ जेष्ठ महिनामा प्रधाननगर (सिलगडी) स्थित प्रधाननिवासको अध्ययनकक्षमा राखिएका प्रदर्शित नाटकका तस्वीर र पाण्डुलिपिमा एकपल्ट आँखा डुलाएँ । अनि सोचेँ, ‘यी नाटकहरूमा मानक पात्र कति होलान् ? कुन पात्र होलान् जसलाई अबको दुई दशकपछि पनि सम्झिइ रहिएला ?’ त्यसरी सम्झिने तरिका के होलान् ?

मानक हुन्छ कि हुँदैन ? मानक मान्ने कि नमान्ने ? यस्ता विषयमा धेरै सैद्धान्तिक बहस गर्ने ठाउँ छन् । तर कतिपय अवस्थामा मानक नबनाउँन खोज्दाखोज्दै पनि मानक तयार भइदिन्छन् र तिनले एउटा युग लामो समयसम्म बोकिदिन्छन् फिजिसियन आर्थर कोनन डोयलको सर्लक होम्स जस्तो । ती मानकहरू त्यस्तो प्वाइन्टहरू भइदिन्छन् जसलाई हेरेर कुनै इतिहासले गरेको यात्रालाई सम्झिन सकिन्छ । अहिलेको समयमा त्यस्तै प्वाइन्ट बन्न सक्ने मानक पात्रहरूको खोजी गरिरहँदा कृष्ण प्रधानको सिङ्साढे बन्न सक्छ ।

हास्य र व्यङ्ग्यको मूल स्रोत एउटैै भएपनि दुवैको छुट्टाछुट्टै प्रभाव हुन्छ । हेर्दा एकनासै लागे पनि व्यङ्ग्यले हँसाउने मात्रै काम नगरेर सोचाउँछ पनि । हास्यले शुद्ध मनोरञ्जन प्रदान गर्दछ, तर हाँस्यसँगै व्यङ्ग्य जोडिएपछि यसले हास्य रसका साथै चिन्तनको एउटा मेलो प्रदान गरेको हुन्छ । हास्य जब स्थूलताबाट टाढिदै सूक्ष्मतातर्फ जान्छ, तब यो बिस्तारै व्यङ्ग्यमा परिवर्तित हुन्छ । व्यङ्ग्य रचनाले समाजका विसङ्गतिलाई छर्लङ पार्छ, तर मार्जित रूपमा । यसको आफ्नै स्तर हुन्छ । आफ्नै मूल्य अनि आफ्नै मानवीयता हुन्छ ।

सिङ्साँढे एक व्यक्तिले अर्कालाई हानेको छड्के मात्र होइन, यो त नेपाल र भारत वर्षको वर्तमान समाज व्यवस्थामा रहेको भ्रष्टचार र दुर्नीतिमाथि गरेको अचूक प्रहार पनि हो । यो त एक्काइसौँ शताब्दीको नेपाल र भारतको समग्र इतिहास पनि हो । शरद जोशीले भने जस्तै कृष्ण प्रधानको व्यङ्ग्य, कर्मबाट पलायन हैन, यो दुष्कर्मका बिरुद्ध लेखिएको सार्थक नाटक हो ।

साहित्य भनेको मानव जीवनका सामुहिक आवेगहरूको कलात्मक प्रतिबिम्बन हो । माक्र्सवादले कला साहित्यलाई सामाजिक चेतना र विशिष्ट मानव कार्यकलापको रूपमा व्याख्या गरेको छ । साँच्चै, माक्र्सवादी लेखक हार्वर्ड फास्ट भन्छन्– लेखकहरू पछाडि बसेर होइन, अघिल्लो मोर्चामा बसेर अघि बढ्नुपर्छ ।

नाटककार कृष्ण प्रधान पनि मोर्चाको अघिल्लो लहरमा नै रहेका छन् ।  सर्वसाधारण जनतालाई यथार्थताको स्वरूपको जानकारी गराउनु कृष्णको काम हो । त्यसमा नै कृष्णको कला र उनको गौरव रहेको देखिन्छ किनभने कृष्णको कामको स्वरूपले गर्दा नै उनको निम्ति मानवीय आशा, डर र दुःखकष्ट र विजयको सार निकाल्न सम्भव हुन सक्छ तर त्यसो गर्नका लागि कृष्ण प्रधानले संसारको छायालाई बुझेर मात्र हुँदैन, संसारलाई बुझ्नु पर्छ ।

नाटकमा संवादले गर्नुपर्ने पहिलो काम पात्रहरूको निर्माण हो । ती पात्रहरूको हुन्, कहाँबाट आए ? भन्ने कुरा संवादले खोल्दै जान्छ । तर सिङ्साँढेमा सुरुमा यो खुल्दैन । नाटक नाटक नै रहेर दृश्यहरू बढ्छन् । नाटक विगतमा के भएको थियो र भविष्यमा के हुन्छ भन्ने कुराको समष्टिगत रूप हो । हरेक पात्रले विगत र भविष्यलाई सँगै लिएर आएको हुन्छ । एउटा कुशल नाटककारले आफ्नो हरेक वाक्यवा संवादमा विगत र भविष्यलाई मिसाएर ल्याउँन सक्नुपर्छ । नाटककार कृष्ण प्रधानले पनियो चाहिँ गरेका छन् । नाटकमा देखिएका पात्रहरू सुबु म्याम, भिखारी, डुकूलण्ठ आदिको विगतमा के भएको थियो भनेर नाटकको अन्तिमतिर एकै पटक लिएर देखापरेका छन् ।

नाटकमा संवादले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पात्रहरूले के गर्न खोजिरहेका छन् ? त्यहाँ वास्तवमा के भइरहेको छ भन्ने कुरा जहिल्यै दर्शकका लागि रहस्यको विषय हुन्छ । नाटककार कृष्ण प्रधानको सिङ्साँढे नाटकका पात्रहरू पाठक वा दर्शकका लागि शुरुशुरुमा महत्वपूर्ण लाग्दैनन् तर अन्त्यतिर तिनै महत्वपूर्ण भएर आउँछन् । नाटककारले कुनकुन पात्रलाई के कस्तो भूमिकामा प्रयोग गरेका थिए? पाठक वादर्शकले नाटक पढिसकेपछि वा हेरिसकेपछि पुनःपात्रको विगत अवस्थाका बारेमा सोच्न बाध्य बनाएका छन् । पाठकले एक पटक सोच्छन् ।

नाटकमा एउटा पात्र अर्को पात्रको प्रस्तावमा असहमत हुन सक्छ । असहमतले नै नाटकमा द्वन्द्वसिर्जना गर्ने हो । मूलतः सिङ्साँढेमा सीतादेवी, सुबु म्याम, मालागुरुमा सिङ्साँढेको प्रस्तावमा असहमत छन् । यही असहमतिले नाटकमा द्वन्द्व सिर्जना भएको छ । एउटा नाटकको लम्बाई कति हुने भन्ने कुरा त्यसमा भएको द्वन्द्व र कथाले निर्भर गर्छ । सिङ्साढेको कथा हेर्दा दर्शकलाई दुई वा साढे दुई घण्टा बाँधेर राख्नु चानचुने कुरा होइन ।

रङ्गमञ्चमा दर्शकको सीमितता रहन्छ । हाम्रोमा बढीमा तीन सयभन्दा धेरै दर्शकले एकैपल्ट नाटक हेर्न सक्दैनन् । यदि अन्तिममा बस्ने दर्शकले अभिनय गर्ने पात्रको अनुहारको भाव देख्न सकेन भने त्यहाँ रङ्मञ्चको शोभा हराउँछ । दर्शकले डबलीमा के कुरा भइरहेको छ भन्ने कुरा स्पष्ट देख्न पाउनुपर्छ । र नाटकले एकै ठाउँमा जम्मा भएका विविध स्वभाव, उमेर र समूहका दर्शकको ध्यान आफूतिर खिचेर राख्न सक्नुपर्छ । रङ्गमञ्चको प्रयोगका लागि कृष्ण प्रधानले भरमग्दुर कोसिस गरेका छन् ।

नाटककारले कुनै दृश्य वा सूत्रधार वा पात्रहरू मार्फत् के भनिरहेको छ, भन्ने कुरामा जहिल्यै पनि स्पष्ट हुनुपर्छ । नाटक लेख्नु भनेको घरको नक्सा बनाउनुजस्तै हो । मूलढोका कहाँ कता फर्काएर राख्ने, अरु सुविधाहरू कहाँ राख्ने, झ्यालको साइज कुन कहाँ सुहाउँछ ? हावा र प्रकाशको अवस्था कस्तो हुन्छ ? पछिल्लो ढोका र किचेन कहाँ राख्ने ? कुन स्थानबाट सिटिङ रुम राम्रो हुन्छ ?यी सबै कुराहरू एउटा घरको समग्र संरचनामा निर्भर हुन्छ । यही कुरा नाटकमा पनि लागू हुन्छ वा भनाँै लागू हुनुपर्छ । 

एउटा नाटकमा संरचना र अन्य विषय समेटिनुका साथसाथै छुट्न नहुने अर्को कुरा भनेको सत्यको वास्तविक अनुभूति हो । सिङ्साँढेमा त्यो अनुभूति पाउन सकिन्छ । कुनै भावना सक्कली हैन भन्ने कुरा सजिलै छुट्टिन्छ । उत्कृष्ट नाटक र सामान्य नाटकको अन्तर यतिमै पनि देखिन्छ । नक्कली भावनाको कुनै प्रस्तुतिले कसैलाई मनाउन सक्ला, आँखामा आँसु ल्याउला वा हँसाउला पनि । 

तर समाजवादी यथार्थवादको सैद्धान्तिक मार्गदर्शनमा नाटकको रचना गर्नु प्रगतिवादी स्रष्टाहरूको मूलकर्तव्य हो । नाटककारले सामाजिक यथार्थको कोरा चित्रण नगरी यथार्थको क्रियात्मकतालाई आत्मसात् गर्दै मानव जीवनको सिर्जनात्मक प्रकाशन गर्दछ । यसरी वैचारिक प्रतिबद्धता र कलात्मक प्रतिबिम्बनको संयोजनबाट नै उत्कृष्ट नाटकको जन्म हुन्छ । एउटा उत्कृष्ट नाटकको स्तरलाई नाप्ने अन्तिम कसी भनेको रङ्गमञ्च नै हो । यही कसीमा राखेर कृष्ण प्रधानको सिङ्साँढेलाई हेर्न चाहिँ बाँकी नै छ ।ं

नाट्य सिद्धान्तका जडसूत्रहरू मात्र परीक्षण, विश्लेषण र निर्णयका आधार होइनन् । यसर्थ रङ्गमञ्चको कलात्मक प्रस्तुतिमै नाटकको सार्थकता, मूल्य, मान्यता र सार्वकालिकता निर्धारित हुन्छ । अथवा नाटक जहिले पनि जहाँ पनि प्रयोग र परीक्षणको लागि तयार रहन पर्छ ।

कुनै पनि नाटक तीन पटक खेलिन्छ । सर्वप्रथम लेखकको मनमस्तिष्कमा, त्यसपछि रङ्गमञ्चमा अनि अन्तमा दर्शकहरूको संवेदना र अनुभूतिमा । पाठदेखि प्रदर्शनसम्मको जटिल प्रक्रियामा नाटकले धेरै काटछाँट भोगेर छरितो र आकर्षक बन्नुपर्छ । पात्रअनुकूल अभिनयपरक बोलचालको संवाद लेखन आफैँमा एउटा चुनौती पनि हो । पात्रहरूले समेत विविध परीक्षणहरूबाट गुज्रेर गतिलो र विश्वासिलो बन्नुपर्छ । नेपाली समाजको माटोको सुवास, शीतल बतासको स्पर्श, टुक्का–उखान, ठेट नेपालीशब्दहरू सिङ्साँढे नाटकका आफ्नोपन हुन् ।

कृष्णको यस नाटकमा पनि कमजोरी छैनन् होइन, छन् । उपभोक्तावादी बजारको शक्तिमा नाटकलाई अर्थात् नाटकमा अन्तर्निहित विचारलाई सम्पे्रषण गर्ने नाटकको आवरण रङ्गीचङ्गी बनाउन अब आवश्यक छ । त्यसलाई हामी नाटकको कला भन्दछौँ । अर्थात् नाटकमा कला वा भाषा पनि प्रधान विषयहो । 

टङ्कणको गल्ती मान्ने सक लेखक को ? सिङ्साँढेको हात समातेर घरभित्र हुल्ने प्रयास गर्दे (पृ.३), तैंले (पृ.३), जिस्काउनु आएकी (पृ.४), विच्काउनु आएकी (पृ.४), मच्छडले चिलेर (पृ.७), बाझ्नु को सक्छ (पृ.११), बिजुली चम्कनु थाल्छ (पृ.९२), महलतर्फ दुगुरेको देखिन्छ (पृ.९३) यस्ता लिङ्ग, विचन र पुरुषका साथै वर्णविन्यासमा त्रुटिहरू प्रशस्तै छन् ।

नेपाली हास्यव्यङ्ग्यको पहिलो लिखित दस्तावेज शक्तिबल्लभको ‘हास्यकदम्व’ नाटक हो । शारदाकालमा हुर्केको नेपाली साहित्य सँगसँगै केशवराज पिँडालीले आधुनिक हास्यव्यङ्ग्यको मार्गनिर्देश र भैरव अर्यालले हास्यव्यङ्ग्यको विस्तार गरे । उर्वरिलो भारतीय नेपाली हास्यव्यङ्ग्य साहित्यमा भने परिष्कृत र समृद्धिको फराकिलो जनपथ बनाउँदै दगुराउनेहरूको त्यति लामो भिड पाइँदैन । यस मार्गमा मरिमेटेर कलम चलाउने अनिमनका सूक्ष्म ओठसम्म स्वतः चलमलाउने हीराकुमार सिंह, डा.त्रिलोक राई, मनबहादुर गुरुङ, हीरा क्षेत्री, एलबी मुखिया, सानुभाइ शर्मा, एल डी राई मिक्खोले, थीरूप्रसाद शर्मा, जीबी बल, सुरेश राई, समीरण प्रियदर्शी, सी के श्रेष्ठ, मोहनपुकार, मिङ लिवाङ, उपमान बस्नेत, परसात राई, सुदर्शन अम्बटो, दीपप्रधान ‘गान्तोके’, प्रदिप कणेल, अमित सुब्वा ‘विकल्प’, रवि रसाइली, राजेन मोक्तान आदिकै पंक्तिमा सिङ्साँढेले कृष्ण प्रधानलाई दरिलो र तागतिलो पहिचान दिलाएर उभ्याएको छ । 

गौरादह, झापा
djsubedi@gmail.com