साहित्य सन्ध्याको नियमित मासिक ४०४ औँ शृङ्खला फागुन ३ गते शनिबार सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सङ्घीयता, सुशासन र जनसाहित्य’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । 

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलद्वारा सञ्चालित उक्त गोष्ठीमा प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.खेमनाथ दाहाल, डा.गोविन्दप्रसाद आचार्य, वरिष्ठ कवि एवम् साहित्य सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी, वरिष्ठ कवि कणाद महर्षि लगायतको उपस्थिति थियो । 

गोष्ठीमा प्रा.डा.पशुपतिनाथ तिमिल्सिनाले ‘सङ्घीयता, सुशासन र जनसाहित्य’ विषयमा चर्चा गर्नुहुँदै नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने उल्लेख गरेको छ । जनतालाई राज्यले दिने सबै प्रकारका आधारभूत सुविधा बसोवासकै स्थानमा प्रदान गर्ने प्रणालीलाई सङ्घीयता भनिन्छ । केन्द्रीकृत राज्यप्रणालीमा जनतालाई चाहिने आधारभूत सुविधा एकै ठाउँमा मात्र प्राप्त हुन्छन् तर जनताका आधारभूत आवश्यकता आपूm बसैकै स्थानमा प्राप्त गर्ने वा पाउने प्रणाली सङ्घीयताले विकास गर्दछ । विश्वका २०–२२ ओटा मुलुकमा अझै पनि केन्द्रीकृत शासनव्यवस्था अवलम्बन गरिएको पाइन्छ भने २५–२८ मुलुकमा सङ्घात्मक शासनव्यवस्था लागू गरिएको छ र यही व्यवस्थामा जनताको ठुलो हिस्सा रहेको पाइन्छ । अहिले हामीकहाँ तीन तहको सरकार रहेको छ । प्रादेशिक तथा स्थानीय सरकारले आफ्नै कानुन, विधि, अर्थप्रणाली निर्धारण गरी अगाडि बढुनुपर्दछ भन्ने सङ्घीयताको सैद्धान्तिक मान्यता हो । एउटा पूरा निर्वाचन अवधि नेहरी प्रादेशिक र स्थानीय सरकारको मूल्याङ्कन गरिहाल्ने वेला भने भएको छैन । अधिकारको बाँडफाँड नै सङ्घीयताको मूल र सकारात्मक पाटो हो । सङ्घीयताले आफ्नै प्रकारका नीति बनाउँछ जुन जनतासँग जोडिएका हुन्छन् । एकात्मक राज्यका अधिकार, कानुन, बजेट स्थानीय सरकारसम्म पुर्याउनु सङ्घीयताको मूल चरित्र हो । निश्चित सिद्धान्तका मान्यताहरूलाई आत्मसात गरेर तलकाले लिने र माथिकाले दिने विधि सङ्घीयताले अवलम्बन गरिनुपर्दछ । प्रणालीहरू फेरबदल हुनसक्छन् तर जनता सार्वभौम हुने वा मालिक हुने व्यवस्था भनेकै सङ्घीयता हो । 

राज्यको सफलता असफलता मापन गर्ने भनेको चाहिँ सुशासनले हो । लोकतान्त्रिक सरकारको मुख्य आधारस्तम्भ नै सुशासन हो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिक जस्ता अङ्गहरूले र यिनका पनि सहायक अङ्गहरूले ठिक ठिक ढङ्गले कार्यसम्पादन गरे भने र जनतालाई पारदर्शी र न्यायपूर्णतबरले सेवा प्रवाह गरे भने सुशान कायम हुन्छ । सुशासनमा जनताले जान्न चाहने हक सुनिश्चित गरिनुपर्दछ । जनसहभागिता, जनता पूर्वसूचित हुनुपर्ने, जबाफदेहिता, पारदर्शिता जस्ता पक्ष सुशासनका प्रमुख आधार हुन्, यिनैका आधारमा राज्यप्रणाली सफल वा असफल भएको मानिन्छ । सुशासन नहुनासाथ अनियमितता, भ्रष्टाचार आदि बढ्छ त्यसैले सामाजिक न्यायमा आधारित राज्यव्यवस्था, कानुनको शासन, समानता र समावेशिता, सहभागितामूलक परिपाटीको विकास, जबाफदेहिता, बहुमत सन्चेतनामूलकता, प्रभावकारिता, पारदर्शिता, उत्तरदायित्वमूलकता, निष्पक्षता जस्ता मान्यतामा टेकेर जनमुखी, भ्रष्टाचारमुक्त शासनव्यवस्था सञ्चालन गर्नसके सुशासन कायम हुन्छ । यिनै कुराहरूलाई हामी स्रष्टाले पनि हाम्रा लेखनका अन्तरवस्तु बनाउनुपर्दछ । साहित्य समाजको ऐना हो भनिए पनि खासमा यो समाज रूपान्तरणको बलियो हतियार हो । समाजलाई सचेत गर्नु, पुनर्निर्माण गर्नु र रूपान्तरण गर्नसक्नु साहित्यको क्षमता हो । सुशासनका आधारभूत मान्यता अवलम्बन गरे÷नगरेको, बेथितिहरू केकस्ता रहेका आदि देखाउने, सचेत गराउने काम साहित्यले गर्दछ । वस्तुजगत्लाई स्वीकार गरेर मूर्त मानवका कुरा लेख्ने वा परामानवका स्वैरकल्पना लेख्ने भन्ने कुरामा जनपक्षीय स्रष्टा सचेत भएर सुशासनका पक्षमा वकालत गर्ने काम गर्नुपर्दछ; जनसाहित्यले विशेषगरी यो भूमिका निभाउनुपर्दछ । वर्गीय समाजमा लेखक पनि वर्गीय हुन्छ तर जनताका पक्षमा लेखिने साहित्यले वर्गीय समस्या पहिचान गरेर रूपान्तरणका पक्षमा वकालत गर्दै लेखिनुपर्दछ । जीवन्त चिन्तनप्रतिको सचेतता हामी स्रष्टाको दायित्व हो । मरणशीलतालाई ग्रहण गरेर पश्चगमनतिर जानु चाहिँ प्रगतिशीलता हुनसक्तैन । विद्यमान सामन्तवादी शैलीको अथवा अस्वाभाविक मालाशैलीको विरोध नै गरिनुपर्दछ । शासनव्यवस्थामा सङ्घीयता अवलम्बन गरे झैँ कला, साहित्य, संस्कृतिको नेतृत्वमा पनि सङ्घात्मकता अवलम्बन गरिनु आवश्यक छ । जुन राज्यले जनताका भाषाशैलीलाई जोगाउनसक्तैन त्यस्ता भाषा मर्दछन्, लोप हुन्छन् । समाजको चरित्र र विविधताअनुरूप सरकार र सुशासन पुगोस् भन्ने आवश्यकता देखाउने, कमजोरीमा प्रहार गर्ने काम जनसाहित्यले गर्नुपर्दछ । हरेक संस्कृतिमा उत्पीडन छन् र यी बहुउत्पीडनविरुद्ध लेखिनुपर्दछ भन्नुभयो । 

गोष्ठीमा ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, डम्बर पहाडी एलाक, दुर्गा रिमाल, भारद्वाज मित्र, ऋषिराम अर्याल, कृष्णदेव रिमाल, बैरागी जेठा, डा.खेम दाहाल, नर्मदेश्वरी सत्याल, डमरुबल्लभ गड्तौला, कुमार नेपाल, शिवप्रसाद आचार्य, वासुदेव ठकुरी, कणाद महर्षि, वेनीबहादुर थापा, भावना न्यौपाने, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, मिसन अधिकारी, गोपाल नेपाल, राधिका कल्पित, अनिता लामा, प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, नन्दु उप्रेती र वासुदेव अधिकारीले आआप्mना समसामयिक कविता, गीत, गजल, हाइकु, लघु कथा बाचन गर्नुभयो ।

वाचित सिर्जनामाथि टिप्पणी गर्नुहुँदै डा.गोविन्दप्रसाद आचार्यले आजको विशेष गोष्ठीमा वाचित २६ ओटा रचना समसामयिक रहेका, सिर्जनामा विद्रोही चेतना देखिएको, हामीमा अध्ययनको भने कमी रहेको, रचनाहरूले सम्प्रेषणीय भाषा प्रयोग गरेका, स्रष्टाको लेखनमा निखार आउँदै गएको, मुलुकमा मौलाएको बेथितिका प्रति सिर्जनाले चिन्ता जाहेर गरेका, केही सिर्जनामा स्रष्टाको कलाका साथमा विचार पनि समेट्ने हो भने रूपान्तरणमा सघाउ पुग्ने अवस्था रहेको, स्रष्टाले यथास्थितिमा समाज रोकिँदैन भन्ने बुझ्नुपर्ने आवश्यकता रहेको, भावनालाई थला नपार्नेगरी विम्ब र प्रतीकको प्रयोग गरिनुपर्ने, समग्र मानवजातिको प्रेममा लेखन समर्पित होस्, कला र विचारको सन्तुलित घोलका रूपमा सिर्जना आयो भने गुलियो हुन्छ नत्र चुइगम जस्तो एकै छिन् मात्र मिठो हुन्छ भन्ने पक्षमा ध्यान जाओस्, साहित्य सन्ध्याको उद्देश्य समाजवादी साहित्यलेखन हो र यसले त्यसै दिशामा आफ्ना कार्यक्रमहरूलाई गहन बहसका माध्यमबाट लैजाने प्रयत्न गरिरहेको देखिन्छ र स्रष्टाले पनि यही भावना आत्मसात गरी सिर्जना गर्नुपर्दछ । आजको यो गोष्ठी भने निकै महत्त्वपूर्ण रह्यो भन्ने धारणा राख्नुभयो । 

सभाध्यक्ष राम विनयले आजको यो गुरुत्वपूर्ण उपस्थितिमा हामीले महत्त्वपूर्ण र अहिलेको सन्दर्भमा अत्यन्त समसामयिक रहेको विषयमा गम्भीर बहस गरेको बताउँदै विषय प्रस्तोता प्रा.डा.पशुपतिनाथ तिमिल्सिना, वाचित रचनाका बारेमा टिप्पणीकर्ता डा.गोविन्दप्रसाद आचार्यले, रचना वाचन गर्ने स्रष्टा, एवम् सहभागीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । 

–रमेश पोखरेल