सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आठाना फिर्ता

Nepal Telecom ad

 height=ज्ञातव्य के छ भने आठाना फिर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हालका महासचिव कमरेड विष्णुप्रसाद पौडेलले {{read_more}} सहर्ष (?) आफ्नो बालुवाटारको आठाना जमिन फिर्ता गरेका छन् । 

महासचिव कमरेड विष्णुप्रसाद पौडेलले आठाना फिर्ता गरेकोमा प्रथमतः मलाई विश्वासै भएन । यसको कारण के भने सरकारी पार्टीका एकमात्र महासचिवसँग त यस्तो चानचुन आना–पैसाको साटो रुपियाँ नै हुनुपर्ने होइन र ? यही सिलसिलामा कतिपय त संयुक्त राज्य अमेरिकाको हरियो–हरियो डलर नै भन्छन् । तर यस्तो केही नभएर आठाना मात्र हो । अर्थात् आठाना जमिन । अझ प्रस्टाप्रस्टीसँग भन्ने हो भने बालुवाटारको आठाना जमिन । हो, त्यही बालुवाटारको आठाना जमिन कमरेड महासचिव पौडेलले फिर्ता गरेका हुन् । कदाचित आठानाको स्थानमा दस आना अथवा बाह्र आना अथवा चौध आना अथवा सोह्र आना भएको भए के हुन्थ्यो ? यो मूलभूत प्रश्न अनुत्तरित भएकोले मैले बढ्ता बुझक्कड भएर केही बोल्नु त्यति मुनासिब छैन ।

वास्तवमा बालुवाटारको जमिन सस्तो नभएर ज्यास्ती नै महँगो रहेको छ । यो कतिसम्म महँगो छ भने आनाकै झन्डै करोड पर्छ । यस्तै जग्गा–जमिनका आधिकारिक दलालहरू निर्धक्कसँग भनिरहेका छन् । मलाई कुनै पनि खालका दलालहरूको बोली–वचनमा त्यति पत्यार लाग्दैन । चाहे त्यो जमिनको दलाल होस् अथवा राजनीतिकै । मेरो भन्नु के हो भने नेपालको राजनीतिको शीर्ष ओहदामा रहेका सम्माननीय प्रधानमन्त्री नै बसोबास गर्ने ठाउँको जमिन भएकोले अरु बेसी महँगो हुनुपर्ने होइन र ? मेरो हिसाबमा त बालुवाटारको आनाको मूल्य करोडभन्दा माथि नै हुनुपर्छ । र बालुवाटारको जमिनको सस्तो–महँगोको विषयमा सरकारी पार्टीका महासचिव कमरेड पौडेल जत्तिको जानकार अरु को हुनसक्छ ? त्यसैले मलाई त के लागिरहेको छ भने आनाकै करोड–करोड पर्ने जमिन महासचिव कमरेड पौडेलले फिर्ता नगरेको भए हुन्थ्यो । यसले मेरै आफ्नो चित्त बुझेको छैन । 
अब उनको पर्सनल चित्तको के अवस्था होला ? मेरो विचारमा त महासचिव कमरेड पौडेलले आठानाको बदलामा तीन आना फिर्ता गरेको भए पनि हुन्थ्यो । हेर्नोस्, उनले जमिन हातलागी गरेको बखतको आनाको मूल्यको हिसाब गर्ने हो भने तीन आना पनि बढ्तै हुन्छ । त्यसबेला जमिन असाध्यै सस्तो थियो । र अहिलेको चलनचल्तीमा रहेको तीन आनाको पैसाले आठ आना नै आउँथ्यो । अझ साँचो भन्ने हो भने केवल दुई आनाले नै राम्ररी काम चल्थ्यो । त्यसकारण मेरो महासचिव कमरेड पौडेलसँग के जिकिर हो भने सिंगो आठाना किन फिर्ता गरिएको हो ? वस्तुतः तीन आनाले पनि कुरा मिल्थ्यो नि ! यसको परिणामस्वरुप चोखै पाँच आनाको बचत हुन सक्थ्यो । र पाँच आना भनेको पुराकापुरा पाँच करोड हो । याने पाँच करोड नगद । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णुप्रसाद नगदको मामलामा यति कमजोर हिसाबी–किताबी हुनै सक्दैनन् । त्यसउसले मेरो अनुमान के हो भने असली हिसाब–हिताब कुनै अर्थोक नै हो कि ? जे भए पनि त्यसो मेरो व्यक्तिगत जानकारीको पहुँचमा नभएकोले मैले केही भन्ने स्थिति छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णुप्रसाद पौडेलले बालुवाटारको आठाना जमिन फिर्ता गरेकै समयमा बालुवाटारमा पार्टीका वरिष्ठ नेता कमरेडहरूका एक तस्बिर सोसल मिडियामा भाइरल बन्यो । त्यसमा वर्तमान अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली तन्मयतापूर्वक मुरली बजाइरहेका छन् भने दुई भूतपूर्व अध्यक्षहरू कमरेड झलनाथ खनाल र कमरेड माधवकुमार नेपालचाहिँं घनघोर सहयोगी मुद्रामा सारंगी । कुन्नि, अर्का दुई नम्बरका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ तस्बिरमा किन नदेखिएका हुन् ! सम्भवतः उनी नेपथ्यमा उपस्थित भएर्र याइँर्–याइँ गरिरहेका थिए । जे भए पनि अत्यधिक भाइरल तस्बिरमा भूतपूर्व एवं वर्तमान अध्यक्ष कमरेडहरू प्रशस्त खुसी देखिन्छन् । यिनीहरू मध्ये अध्यक्ष कमरेड ओली अहिलेका प्रधानमन्त्री भएकाले गदगद हुनु स्वाभाविकै छ ।

एक प्रकारले उनी पदेन पुलकितावस्थामा विराजमान छन् । तर अन्य दुई भूतपूर्व अध्यक्ष कमरेडहरूचाहिंँ के कुरामा यति प्रसन्न देखिएका हुन् ? यसमा पनि आठानाको व्यापक भूमिका हुनसक्छ । कुनै बेला कमरेड माधवकुमार नेपाल र कमरेड झलनाथ खनालमा तीव्र संघर्ष चलेको थियो । यसलाई पुरानो एमाले पार्टीको इतिहासमा ‘आठानाको संघर्ष’ नामले स्मरण गरिन्छ । दुवै कमरेडहरू एकातिर पञ्चायती व्यवस्थासँग जोडदार लडाइँ गरिरहेका थिए भने अर्को्तिर आठानाको संघर्ष पनि चालु थियो । यसको कारण राजधानी, काठमाडौंको आठाना थियो । अर्थात् कोटेश्वरस्थित जम्माजम्मी आठाना जमिन । (पढ्नोस्, २०६७ सालको चैत २६ गते प्रकाशित मेरो ‘सिउँडी’) को रचना– आठानाको सिद्धान्त) । हँ, के त्यो वरिष्ठ कमरेडहरूबीच आफैं–आफैंमा भएको आठानाको विवाद मिलिसक्यो ? तर वर्तमान महासचिव कमरेड विष्णुप्रसाद पौडेलले चाहिँं आफ्नो आठानालाई मिलाउन सकेनन् । अतएव अघि बढेर फिर्ता गर्नुपर्नेसम्मको अवस्था आयो । यहींनेर मेरो मनमा एउटा उत्सुक्ता जन्मिएको छ– केही गरी आफ्नो आठाना फिर्ता गरेका कमरेड महासचिव पौडेलको मन एकाएक परिवर्तित भएर उनले फिर्ता गरेको आठानालाई फिर्ता मागे के हुन्छ ?

कमरेड महासचिव विष्णुप्रसाद पौडेलको आठाना फिर्ता गराइको मौलिक स्टाइलले म बहुतै प्रभावित भएको छु । र मलाई पनि केही फिर्ता गरुँ भन्ने लागिरहेको छ । के फिर्ता गरुँ म ? एक मन त आफ्नै घरको जमिन फिर्ता गरुँ भन्ने भयो । तर यो त आठाना जमिनमा छैन । अब एकाध आफ्ना फिर्ता गरेर के हुन्छ ? त्यसमाथि मैले आफ्नो घरको जमिन कुनै भूमाफियाको बरदहस्तबाट प्राप्त गरेको पनि होइन । यो मेरो विशुद्ध परिश्रमको आर्जन हो । मैले महासचिव कमरेड विष्णुप्रसाद जसरी किन फिर्ता गर्ने ? तसर्थ म आफ्नो फिर्ता गर्ने विचारलाई नै अविलम्ब फिर्ता लिन्छु ।

कान्तिपुर, फाल्गुन ३, २०७६ 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे