एउटा जड्याहाको कृयाकलापले पुरै टोलबासी हैरान थिए । गाउँमा साधु आएको बेलामा जँड्याहालाई सुधार्नका लागि गाउककलेले उसलाई समातेर साधुको अघिल्तिर पुर्याउँछन् ।

‘बाबु, यसरी दिनरात सुरापान गरेर परिवार, गाउकक समाजलाई पीडा दिने त सिधै नर्कमा पुग्छन्’ साधुले सम्झाउने प्रयास गरे ।

‘रक्सी पिउने म चाहि नर्कमा पुग्छु भने बेच्ने भट्टीवाल पुग्नुपर्दैन ?’ उसले साधुसँग जिज्ञासा राख्यो ।

‘भट्टीवाल पनि निश्चित रुपमा नर्कमा पुग्छ’ साधुले भने ।

‘अनि भट्टी अगाडी कुखुरा काटेर बेच्ने नि’ जँड्याहाले फेरि सोध्यो ।

‘ओहो त्यो मासु पसले त झनै ठूलो कुम्भीपाक नर्कमा जानुपर्छ’ साधुले उसको जिज्ञासा शान्त पार्दै भने ।

‘अनि यत्रा मान्छेलाई ख्वाउनेगरि रक्सी बनाउने कारखाना मालिक नि ?’ जँड्याहाको जिज्ञासा अझै शान्त भएको छैन ।

‘रक्सी बनाउने डिस्टिलरी साहुलाई त स्वर्गमा ठाउँ नै छैन । ऊ त यतैबाट सिधा नर्कमा पुग्छ’ साधुले जवाफ दिए ।

साधुका कुरा सुनिसकेपछि जँड्याहा बोल्यो– ‘ए हुर्रे..ल भयो । म पनि बरु नर्कै जान्छु । हामी सबैको भेट त्यहि हुनेरहेछ ।’